काठमाडौँ, फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु भएको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त भर्खरै सुरु भएको हो ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।
साविक विजेतासमेत रहेको अर्जेन्टिनाले फाइनल खेलका लागि आज तीन खेलाडी परिवर्तन गरेको छ । जसमा गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाइमा परेका छन् ।
सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध पहिलो रोजाइमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आज बेन्चमा छन् । यता, स्पेनले भने फ्रान्ससँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो । यस्तै, स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
स्पेन र अर्जेन्टिना विश्वकपमा ६० वर्षपछि आमनेसामने भएका हुन् । यसअघि सन् १९६६ मा दुई टोलीले विश्वकपमा खेलेका थिए । फाइनल खेलअघि विभिन्न कलाकारहरूले आआफ्नो प्रस्तुति दिएका थिए ।राष्टिय समाचार समिति (रासस)
























































































































































