कैलाली । कैलालीमा शिक्षक सरुवाका विषयमा कुटाकुट भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अहिले एक दरबन्दी खाली छ । सो दरबन्दीमा सरुवा मिलान गर्ने विषयमा विवाद हुँदा कुटाकुट भएको विद्यालय प्रशासनले जनाएको छ ।
हुन त शिक्षक सरुवाका लागी सबैका दबाबहरू आउने गरेका थिए नै । विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतमले भने,… “शनिवार त एकनाले व्यवस्थापनका अध्यक्ष माथि नै हात हाले नि । नाम तर्क भट्ट र घर महेन्द्रनगर भन्थे । बैतडीमा कार्यरत आफ्नी श्रीमतीको सरुवा मिलान गर्नु प¥यो भन्दै पहिला देखी नै लागेका थिए । उनी शनिवार बिहानै विद्यालयमा पुगे । को को नेताहरू सँग फोन पनि गर्दै थिए । हामीले शिक्षकको विषय र विद्यालयको आवश्यकता अनुसार गर्छौ भन्यौ । अनि पार्टीका नेताले भनेको नमान्ने भन्दै तथानाम गाली गरे र वडा अध्यक्ष माथि हातपात नै गरे नि ।”
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझाले पनि भट्टले आफूमाथि गालीगलौज गरी हातपात सुरु गरेको बताए । उनले भने,… “स्कुलमा एर्पोट जाली लगाउने काम भएर स्कुल गएको थिए । उनी त राजनीतिक संस्कार नभएको औँठाछाप वडाध्यक्ष, आफ्ना नेताले भनेको नमान्ने त खाते भन्दै उफ्रिन थाले । मैले तपाई भाषा सुधारेर बोल्नुस् है मात्रै के भनेको थिए ज्याकेट खोलेर फाले र सिधै आएर हान्दिए । अनि क्रियाको प्रतिक्रिया म बाट पनि भयो ।”
यता तर्क भट्टले भने त्यसो नभएको बताएका छन् । म पनि तपाई जस्तै सामान्य मिडियाकर्मी हु । हामी सँगको टेलिफोन संवादमा उनले भने,… “श्रीमती सरुवा गर्न खोज्यो भन्ने कुरा मलाई कमजोर देखाउन खाल्ली भनेका हुन । खासमा म आफन्तकोमा आएको मौकामा विद्यालयको विगत देखिको अनियमितताबारे रिपोर्टिङ्ग गरौँ भनेर भित्र पसेको थिए । त को होस ? तँलाई किन चाहियो भन्दै म माथि कुटपिट गरे । मैले प्रहरीमा उजुरी पनि दिएको छु ।”
तर प्रत्यक्षदर्शी रहेका विद्यालयका अन्य शिक्षक र केही विद्यार्थीहरूले भने कार्यालयमा विद्यालयको अनियमितता बारे नभई शिक्षक सरुवा गर्ने बारे छलफल भएको बताएका छन् । भट्ट र वडा अध्यक्ष ओझा बिचको हात हालाहाल पछि मात्रै आफू मिडियाकर्मी पनि भएको र अव पावर देखाउने भन्दै निस्केको उनीहरूको भनाई छ ।
कहिले सम्म दरबन्दी रिक्त ?
राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत लेखा विषयका शिक्षक रामछबिला चौधरीको निधन पछि एउटा स्थायी दरबन्दी खाली छ । विद्यालय प्रशासनका अनुसार उक्त दरबन्दीमा आ–आफ्ना मान्छेको सरुवा मिलाउन ठुलै राजनीतिक दबाब समेत आउने गरेका छन् ।
विद्यालयमा अहिले व्यवस्थापन समिति गठन गरिएको छैन । भर्ना सकिए पछि अभिभावक भेला गरी समिति गठन गर्ने र त्यसपछि मात्रै शिक्षक सरुवाको प्रक्रिया अघि बढाउने विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतमले बताए । हामीलाई लेखा विषयको शिक्षक चाहिएको हो । उनले भने,… “त्यो नभए विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षकहरू प्राथमिकतामा पर्छन् । त्यसमा पनि व्यवस्थापन समितिले आवश्यकता र परिवेश पहिचान गर्छ । मानिसहरू कुरै नबुझी मेरो मान्छे–मेरो मान्छे भन्दै छन् ।”
उनका अनुसार विद्यालयमा सामाजिक विषयका शिक्षक २ जना कार्यरत छन् । तर्क भट्टको श्रीमती पनि सामाजिक विषयको शिक्षक भएकाले उनको सरुवा मिलान गर्न नसकिने विद्यालयको भनाई छ ।























































































































































