कैलाली । बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको ४४ वर्षको उमेरमा आइतबार असामयिक निधन भएपछि बर्दगोरिया गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले आइतबार जारी गरेको शोक बिदा सम्बन्धी सूचनाअनुसार स्वर्गीय विश्वकर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आज असार २९ गते सोमबार बर्दगोरिया गाउँपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) तथा शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक शोक बिदा रहने जनाइएको छ।
गाउँपालिकाले शोक बिदाका कारण सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित सबैलाई जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको जनाएको छ।























































































































































