कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।
बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो।
कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,००० को आय र २२ लाख ६१ हजार ३ सय ६४ व्याय विवरण प्रस्तुत गरिएको थियो ।
यस्तै आजनै कार्यक्रमका प्रमुख अतिथि कमल साउँदले उक्त दानविर सामुदायिक वनको निर्मित भवनको उद्घाटन समेत गरेका हुन ।
वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नैसरा पुन मगरले गरेकी थिइन ।
यस्तै सामुदायिक वनले आफ्नो पश्चिमेली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ देउडा खेलको समेत आयोजना गरेको थियो । कार्यक्रममा देउडा कलाकार कृष्ण न्यौपाने र कल्पना खडकाको बेजोड घम्साघम्सी देउडा खेल भएको थियो। कार्यक्रममा आएका उपभोक्ताहरूको अनुसार दानवीर सामुदायिक वन उपभोक्ता समूहले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउँछन्। उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम , थालेको हो ।केही वर्ष अघि सामुदायिक वनले आफ्ना विपन्न १३६ घरधुरीका उपभोक्ताहरुको लागि आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले १० लाख बराबरको बाख्रा वितरण गरेको थियो ।
भौगोलिक रुपले पिछडिएको मोहन्याल गाउँपालिकाको बिकास र समृद्धि तथा यहाँका स्थानीयको जीवन स्तरमा दानबिर सामुदायिक वनले पुर्याएको योगदान उच्च रहेको उपभोक्ताहरु बताउँछन् । यस सामुदायिक वनले यहाँको विकास र परिवर्तनका लागि गाउँमा सडक बाटो निर्माण देखि स्थानीयको जीवनमा सुधार ल्याउन र आर्थिक सवलीकरणका लागि गरेको योगदानले स्थानीय नागरिक ,उपभोक्ता तथा सरकारलाई समेत महत्त्वपूर्ण सहयोग पुग्दै आएको छ ।
दानविर सामुदायिक वनले आफ्ना उपभोक्ताको सहजताका निम्ति सडक बिस्तार, सडकमा होम पाइप राख्ने, बालबालिकाको शैक्षिक स्तरमा टेवा पुर्याउन अध्यतनरत सामुदायिक स्कुललाई आर्थिक सहयोग गर्दै आएको छ ।
सामुदायिक वनको आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ । आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको सो सामुदायिक वनका कार्यबाहक अध्यक्ष कल्पना थापाले बताउनुभयो । सामुदायिक वनहरूले आफ्ना उपभोक्ताहरूलाई प्रतिघर ३ हजार रुपैयाँ बराबरको बिद्युत् मिटर वितरण गरि सकेको छ।
समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।
भौगोलिक रूपले विकट रहेकोे मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण सुगम बस्तीमा अझैसम्म सडक सञ्जाल, बिजुली र खानेपानीको पहुँच तथा सुविधा विस्तार हुन सकेको छैन । सडक सुविधाको पहुँचबाट बन्चित सो वडामा आवतजावतमा सहजताका लागि स्काभेटरको प्रयोग गरि १० दिन लगाएर बाटो काट्ने, चक्लाचौडा बनाउने र केही वर्ष अघि सम्याउने कार्य गरिएको उपभोक्ता समूहले जनाएको छ ।
२२६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले निर्माणाधीन सेतीलोकमार्ग सडक क्षेत्रभित्र पर्ने सडकले ओगटेको १ हजार २ सय ५० रुखहरु यसअघि कटानी गरेको थियो । २३ हजार ९ सय २२ क्युफिट काठ ठेक्कापट्टा प्रक्रियामार्फत बिक्रीवितरण तथा वन पैदावार गरि प्राप्त भएको २८ लाख आम्दानीमध्येबाट उक्त सडक निर्माणकार्यमा खर्च गरिएको उपभोक्ता समूहले जनाएको छ ।
१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिकवनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले जनाएको छ ।
विगत आर्थिक वर्षमा वडामा रहेका समुदायमा आधारित सरस्वती बालविकास केन्द्र, भृकुटी बालविकास केन्द्र र मोहन्यालमा माविमा २ लाख ४० हजार रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि नगद सहयोग गरिएको बताइएको छ । आधारभूत स्वास्थ्य इकाइकाे भवन निर्माणकाे लागी १० लाख सहयोग गरेको थियो।
सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार नै उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । सोहीबमोजिम सामुदायिक वन विकास अन्तर्गत वन संरक्षणका लागि चोरीपैठारी, वन्यजन्तुको सिकारी, वन चरिचरण, आगलागी नियन्त्रणका नियमित प्रयास र रेखदेखका कार्य गरिएको सामुदायिक वन उपभोक्ता समूहकी सचिव नैसरा पुनले बताउनुभयो ।
त्यससंगै वृक्षारोपण, सीमा अतिक्रमण नियन्त्रण, पोथ्रा रुखविरुवाको जथाभावी फँडानी रोक्न नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम गरिएको सचिव पुनले बताउनुभयो ।
उहाँले यसवर्षको वार्षिक कार्ययोजना अन्तर्गत सामुदायिक वनको आम्दानीबाट स्थानीय बासिन्दाको मागअनुसार आवातजावतमा सहज पहुँच पुर्याउन उपभोक्ता समूहले निर्णय गरि बाटो निर्माणकार्य गरिएको बताउनुभयो ।
सामुदायिक वनको पहलमा गाउँसम्म मोटर सडकको विकास भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको थियो। सडकको स्तरोन्नतिले स्थानीयलाई आउजाउमा सहजता भएको स्थानीयहरुले बताए। मोटरबाटोको विकास भएपछि स्थानीय बजारसम्म आउजाउ गर्न र आफूहरूलाई दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ल्याउनेलैजाने बाध्यता हटेको स्थानीयको भनाइ छ । ‘सडक नहुँदासम्म हामीले स्थानीय बजारबाट पैदल हिंडेर सामान ल्याउनुपर्ने बाध्यता थियो’, स्थानीयहरुले भन्नुभयो, ‘अब मालसामान ढुवानी र आउजाउमा धेरै सुविधा पुग्छ ।’
आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने सामुदायीक वनका पदाधिकारीहरुले बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको भनाई रहेको छ ।
वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवबमा सुधारको कार्य थालनी गरिएको छ। उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।
उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको सामुदायीक वनका पदाधिकारीहरुले बताए।
नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।
नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावकहुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ ।


































































































































































