बौनियाँ:नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापतिका लागि काँग्रेसका युवानेता तेजप्रताप मल्लले उम्मेदवारी घोषणा गरेका छन् । युवानेता मल्लले संघीय संसदीय निर्बाचन क्षेत्र नम्बर २ कैलालीको क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफू सभापतिमा निर्बाचित भएपछि एक घर एक काँग्रेस अभियान चलाउने दाबी गरे । पछिल्लो पटक नेपाली काँग्रेसका हरेक इकाई निष्क्रिय रहेको बताउँदै उनले पार्टीमा युवाको आकर्षण बढाउन पार्टीका हरेक संरचनागत इकाईलाई क्रियाशिल बनाएर अघि बढ्ने बताए ।
एक घर एक काँग्रेस अभियान सञ्चालन गरेर पार्टीलाई उचाइमा पुगाउने उद्घोष समेत गरेका हुन् ।
नेपाली काँग्रेस परम्परागत तरिकाले अघि बढेकोले स्थानीय, प्रदेश र संघको निर्बाचनमा हार व्यहोरोको उनको भनाइ छ । नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन युवा नेतृत्वको खाँचो रहेकोले व्यक्तिगत भन्दा संरचनागत हिसाबले पार्टिलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको युवा नेता मल्लले बताए ।
अहिले नेपाली काँग्रेस पार्टीमा आदेश दिएर पार्टी चलाउन खोजिएकाले पार्टीमा समस्या सृजना भइरहेको उनले बताए । पार्टी नेतामा गाउँमा जाँदा नेतालाई भेट्ने चलन रहेकोले आफू सो पदमा निर्बाचित भएपछि नेताभन्दा कार्यकर्तालाई भेटेर पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउने उद्देश्य आफ्नो रहेको उनको भनाइ छ ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएर आफू सधै क्रियाशिल रहने उनले बताए । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका मल्ल विद्यार्थीकालमा लोकप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुन् । मल्ल २०४६ सालमा नेवि संघको सदस्यता लिएर राजनीतिक क्षेत्रमा होमिएका मल्ल २०५६ साल देखि नेपाली कांग्रेसको भातृ संघ नेबि संघको क्रियाशील राजनीतिसंगै कैलाली क्षेत्र नम्बर २ (ख) को सदस्य हुँदै सचिव र सभापति भई सकेका नेता हुन् ।