ढोरपाटन (बागलुङ), तमानखोला गाउँपालिका–३ तमान गाउँमा स्थानीयले २०६७ सालमा श्रमदान गरेर बनाएको खेलमैदानलाई रङ्गशालामा रुपान्तरणको प्रयास थालिएको छ ।गाउँमा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि उक्त खेल मैदानलाई रङ्गशालाका विस्तार गर्न स्थानीय जुटेका छन् ।
रङ्गशाला निर्माणका लागि रु सात लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर प्रारम्भ भएको रङ्गशाला निर्माणमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त रु तीन करोड खर्च भइसकेको तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले जानकारी दिनुभयो ।
हालसम्म रङ्गशालाको ७५ प्रतिशत काम पूरा भएको छ । जिल्ला फुटबल सङ्घका सदस्य प्रेम बुढामगरले तमान क्षेत्रमा वर्षौं अगाडिदेखि नै भलिबल, फुटबललगायत सानाठूला प्रतियोगिता हुने गरेका भए पनि रङ्गशालाको अभावमा खेल सञ्चालन गर्न आफूहरुले समस्या भोग्नुपरेको स्मरण गर्दै अब व्यवस्थित रुपमा प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

























































































































































