
नेपाल प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।
आगामी बैसाख १७ र २७ गते गरी दुई चरणमा हुने भएको चुनावलाई मध्यजनर गरेर प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउने काम सुरु गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)वसन्त कुवँरले जानकारी दिए। चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको छ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हुने सुरक्षा चुनौती, विप्लव प्रभावित क्षेत्रहरुको पहिचान र वर्गीकरणलगायतका काम पनि सुरु गरिएको हेडक्वार्टरले जनाएको छ। त्यसैगरी सत्तारुढ नेकपामा भएको फुटका कारण आगामी चुनावमा ओली समूह प्रचण्ड(माधव समूह पनि मुख्य चुनौती रहेको विश्लेषण सुरु गरिएको छ।
यी दुई समूहबीच हुनसक्ने झडप अर्को चुनौती रहेको प्रहरीले जनाएको छ। त्यसगरी आगामी चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ। चुनाव हुनभन्दा ४५ दिनअघि म्यादी प्रहरी भर्ना गरिसक्नु पर्ने र १५ दिनसम्म तालिम दिएर फिल्डमा खटाउनुपर्ने प्रारम्भिक खाकामा उल्लेख गरिएको छ।
उनीहरुलाई चाहिने बन्दोबस्तीका सामान, लताकपडा लठ्ठीलगायतको आपूर्तिका विषय पनि एआइजी पोखरेल नेतृत्वको कमिटीले तयार पारेको छ।