
काठमान्डौं । काँग्रेस सभापति शेरबहादुर देउवाले विवादकाबीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेपछि संस्थापन इतर समूहले आपत्ति जनाएको छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए भने उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्य थपेका थिए । पौडेल समूहको विरोधलाई बेवास्ता गर्दै देउवाले विभाग गठन र विस्तार गर्दै आएका छन् । देउवालेगत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । देउवाले अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयन गरिसकेका छन् । पार्टी विधानमा एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था भए पनि देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन् । अहिलेसम्म विभाग प्रमुखसहित ५ सय २१ जना नेता कार्यकर्तालाई विभागमा जिम्मेवारी दिएका छन् । देउवाले पार्टीभित्रको ६०/४० को हिसाब किताबअनुसार सबै विभाग गठन र पूर्ण विस्तार नगरेको केन्द्रीय सदस्य एनपी साउदको भनाइ छ । तर बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने यतिबेला विभाग गठनको औचित्य नभएको भन्दै प्रतिवादमा उत्रिएको छ । वरिष्ठनेता पौडेलले नीति, विधि र विधान मिचेर गरिएका कामविरुद्धको आफूहरुको अभियान महाधिवेशनसम्मै जारी रहने बताए ।उनले भने,विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि गठन गरिनुबाट विधानको पूरै उल्लङ्घन भएको छ । यस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रको धज्जी उडेको छ । देउवा विधि पद्धति मार्ने काम भएको बताए ।विधि विधानलाई मिचेर आफ्नो अनुकूलमात्र गर्न खोज्ने ? आफू अनुकूल भएमात्र अधिवेशन गराउने नभए चुनावै नगराउने? यो त सिस्टम मर्यो नि । विधि विधान मर्यो नि । देउवाको गतिविधिप्रति नेता कार्यकर्ताबाट सशक्त प्रतिवाद हुन सकेको उनको गुनासो छ । हाम्रा साथीहरु अझै बोल्न कन्जुस्याई गर्नुहुन्छ । बोल्न कन्जुस्याई नगर्नुस् भन्छु म । सही सत्य कुरालाई अगाडि ल्याउनुस् भन्छु । सत्य अगाडि नआए असत्यले ढाक्छ,आफ्नो कमजोरीबारे उनले भने,बोल्दा पनि जसरी बोल्नुपथ्र्यो त्यसरी बोल्न सकिरहेका छैनौं । साथीभाइहरुलाई म सुधारेर लानुपर्ने कुरा मैदानमा राखौं भनिरहेछु । म फेरि पनि भन्छु हाम्रो यो अभियान जारी रहन्छ ।देउवाका कामले कुनै दिन पार्टीभित्र विस्फोटको रुप लिन्छ :कोइराला देउवाको कामप्रति यस्तै आक्रोश नेता शेखर कोइरालामा पनि देखिएको छ ।रातोपाटीसँग उनले भने,पार्टीका विभिन्न निकाय ६ महिनाभित्र गठन गर्ने विधानमा भनिएको छ । तर सभापतिजी त साढे चार वर्ष सुतेर बस्नुभयो । यतिबेला विभाग बनाएर दिवालियापन देखाइराख्नु भएको छ । महाधिवेशनलाई प्रभावित गर्न उहाँले यो सब गरिरहुनुभएको छ । आफू जित्न र आफ्नो समूहलाई जिताउनलाई यो गरिरहनुभएको छ । कोइरालाले आसन्न महाधिवेशनमा देउवालाई भोट गन्ने चुनौति दिए । उनले भने,म उहाँलाई चुनौति दिन चाहन्छु महाधिवेशन गराउनुहोस्, सभापतिजी तपाईलाई कति भोट हाल्छन् हेर्नुहोला ? पाँच वर्षको दौडानमा तपाईँले यो यो काम गलत गर्नुभयो भनेर कार्यकर्ताले जवाफ दिनुहुन्छ ।कोइरालाले पनि यो इस्यु अधिवेशनसम्म लिएर जाने बताए । भने,जसरी नेकपा सरकारले गरेका गलत कुराको फेहरिस्त राखेका छौं। स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा लिएर जान्छौँ । त्यसैगरी पार्टी महाधिवेशनमा पनि उहाँका गलत कामहरु लिएर जान्छौँ ।देउवालाई चुनौति दिन आफू पनि तयार रहेको भन्दै कोइरालाले अगाडि भने,हामी साथीभाइहरुले त्यसको तयारी गरिरहेका छाँै । म आफैं पनि यी विषय लिएर मैदान जाने तयारी गरिरहेको छु । नेता कार्यकर्तासित भेटघाट गरिरहेको छु । सभापति देउवामा लोकतान्त्रिक संस्कार र सच्चिने इच्छाशक्ति नै नभएका कोइरालाको आरोप छ । हाम्रो विरोधका बीच विभाग गठन गर्दै गइराख्नुभएको छ । उहाँमा करेक्सन हुने इच्छाशक्ति नै छैन । करेक्सन हुन त डेमोक्रेटिक कल्चर हुनुपर्यो, शेरबहादुरजीमा यस्तो संस्कार नै छैन उनले भने,हामीले पार्टीभित्र जुन लोकतान्त्रिक पद्धति विकास गर्दै आएका थियौँ । बिपी कोइरालादेखि सुशील कोइरालाले सबैलाई सम्झाएर बुझाएर सरसल्लाह गरेर अगाडि जाने त्यो लोकतान्त्रिक पद्धति नै हटाउन थालिएको छ । नेपाली काँग्रेसभित्र आन्तरिक लोकतन्त्र विस्तारै समाप्त हुँदै छ । विधि विधानलाई पनि पन्छ्याएर आफ्नो ढंगले काम गर्दै जाने परिपाटी विकास भएको काइरालाको बुझाइ छ । हामी धेरै बोलिराखेका छौँ, भनिराखेका छौँ तर यसले कुनै दिन पार्टीभित्र विस्फोटको रुप लिनसक्छ । यतिबेला पार्टीभित्रको ठूलो समूहका विरोधकाबीच पनि शेरबहादुरजी गलत काम गर्दै हुनुहुन्छ,कोइरालाले भने,;यो त राजनीतिक संस्कारै नभएको भयो नि त ? शेरबहादुरजीले यस्तो अलोकतान्त्रिक काम गर्न मिल्छ ? उहाँ र उहाँको कोटरी जति अनडेमोक्रेटिक कोही हुँदैन । काँग्रेसको नेतृत्व नै अलोकतान्त्रिक हुँदा कांग्रेसले अरूलाई लोकतन्त्र सिकाउन नसक्ने उनको भनाइ छ । सुशील कोइराला सभापति हुँदा विभाग गठनबारे भएको लफडाको स्मरण गर्दै कोइरालाले भने,सुशील कोइरालाको पालामा विभागमा यस्तै विवाद भएको थियो । चार वर्षको कार्यकालमा उहाँले दुई वर्षमा विभागहरू बनाउन थाल्नुभयो । शेरबहादुरजीले विरोध गर्नुभयो र केन्द्रीय समितिमा सहभागी हुनुभएन । सुशीलजीलाई लाग्यो होला, समयमा गर्न सकिएन, काँग्रेसलाई एक ढिक्का राख्नैपर्छ, अनि उहाँले विभागहरू गठन गर्न बन्द गर्नुभयो । देउवा त्यही ठाउँमा हुँदा पनि गलत काम गर्दै गएको उनको भनाइ छ । कोइरालाले रातोपाटीसँग भने,उहाँ पार्टी समूहलाई विश्वास नै गरिरहनुभएको छ । एकल ढंगले हिँड्न खोजी रहनुभएको छ । त्यसलाई हामी चुनौति दिनुको विकल्प छैन ।विभाग गठनको निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षणपत्र र पत्रकार सम्मेलन गरेर पौडेल पक्षले विरोध गरेको थियो । कोइरालाले भने चारैतिर बोलिराखेका छौँ । अहिलेसम्म हामी उहाँ गलत कामको विरोध पार्टीभिबाट मात्र गर्दै थियौंँ अब सार्वजनिक रुपमा विरोधमा उत्रिन्छौँ । उहाँ सुर्धिनुहुन्न् भने नेपाली काँग्रेसका कार्यकर्ताले सुधार्नुहुन्छ । यतिबेला विभाग गठन गरेर देउवाले महाधिवेशनको निम्नतम आचारसंहिताको ठाडो उल्लंघन गरेको नेता अर्जुननरसिंह केसीको आरोप छ । उनले भने,महाधिवेशन भएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागहरु सभापतिजीले आफ्नो नियमित कार्यकालमा नगरेर महाधिवेशन घोषणा गरिसकेपछि विभाग गठन गर्नुभएको छ । समग्र रुपमा महाधिवेशनको निम्नतम आचारसंहिताको ठाडो उल्लंघन गर्नुभयो । महाधिवेशनलाई प्रभावमा पार्ने महासमितिले २८ विभाग बनाएको थियो । त्यसको मसी नसुक्दै ४७ वटा बनाउने काम पार्टीको लोकतान्त्रिक मान्यता परम्परा ध्वस्त गर्दै पार्टी कब्जा गर्ने निरंकश प्रवृति धोतक हो । यसमा आफूहरुको पूर्ण आपत्ति गरेको केसीले बताए ।यसमा हामी सहभागि हुँदैनौँ । सम्मपूर्ण साथीभाइलाई सहभागी नहुन पनि आग्रह गर्दछौँ । यो पूर्णत लोकतन्त्र विरोधी गतिविधि हो । आन्तरिक प्रजातन्त्रलाई समाप्त गर्ने खालले काम भइहरेको छ । हाम्रो त्यसमा आपत्ति छ, उनले भने । आफूहरु आन्तरिक लोकतन्त्रिक संघर्षको मोर्चाबन्दी तयार गरेर यसलाई महाधिवेशनसम्मै मुल मुद्दाका रुपमा लिएर जाने केसीले बताए । देउवा पक्ष भन्छ :महाधिवेशन लाग्यो सह-महामन्त्री डा.प्रकाशशरण महतले सभापति देउवाले विधानसम्मत रुपमा विभाग गठन गरेका भन्दै महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने दाबी गरे । देउवाले विभागको गठन गरेर आचारसंहिता विपरित काम गरेको पौडेल पक्षको आरोपको महतले खण्डन गर्दै वडाहरुले सदस्यहरुको नामावली बुझाएपछि आचारसंहिता लागू हुने बताए । उनले भने अहिले त पार्टी समायोजन नै सकिएको छैन । सक्रिय सदस्यता टुंगो लागेकै छैन । वडाले दिएपछि केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाउँछ, त्यसपछि पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ । राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? लाग्दैन । त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन् । देउवा निरंकुश भयो भन्ने कुरा पार्टीभित्र पनि बाहिर पनि पत्याउने अवस्था नरहेको उनको तर्क छ ।पार्टी सभापतिले विभाग बनाउने विधानमा स्पस्ट व्यवस्था छ । त्यसमा कसैलाई सोध्नुुपर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनुपर्दैन । तर उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन र सबैलाई चित्त बुझाउँछु भनेर अहिलेसम्म गर्नुभएन,महतले भने,उहाँलाई असफल बनाउन मात्र लागि परेपछि उहाँले बाध्य भएर विभाग गठन गर्नुभएको हो । त्यो पनि उहाँहरुका लागि भाग छोडिनुभएको छ । त्यसैले उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन । सभापतिले आफुले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय गर्न नसकेको उनको भनाइ छ ।यी विभागहरु समयमै बनेको भए पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो, त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिँ दोष दिन सक्दैनौं । विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेशन लागेको भनेर बुझ्नुपर्ने महतको भनाइ छ । यसअघि देउवाले पनि ध्यानकर्षणपत्र बुझाउन पुगेको पौडेल समूहलाई महाधिवेशनको राजनीति सुरु भएको जवाफ दिएका थिए ।