बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट गत आर्थिक वर्षमा भएका सेवा प्रवाह, विकास निर्माण तथा योजनाका बारेमा जानकारी गरिएको थियो ।
सार्बजनिक सुनुवाइमा गाउँपालिका अन्तर्गत ६ वटै वडामा भएको बजेट, योजना र त्यसको पारदर्शी कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय जनता र सेवाग्राहीले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा धेरैजसो नागरिकले स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुबिधाबाट असन्तुष्टि जनाएका थिए । उनीहरूले स्थानीय स्तरमा हुने विकासे योजना र त्यसको बजेटबाट आफुहरुलाई थाहानै नहुने गरेको बताएका थिए भने सूचना पाउने अधिकारबाट समेत आफुलाई बन्चित गरिदै आएको बताएका थिए । उनीहरूले स्थानीय स्तरमा गौरवका योजना छनोट र प्राथमिकता राखेर काम गरिनुपर्ने समेत उनीहरूले सुझाव दिए ।
केही नागरिकले भने स्थानीय सरकारबाट सहजै पाउनुपर्ने सेवा र सुबिधा समेत आफुलाई विभिन्न कारण देखाउदै दु:ख दिने गरेको ,जनप्रतिनिधि जनमैत्री नभएको, धेरै ठाउँमा आसेपासेलाई मात्रै समेट्ने गरेको बताए । गाउँपालिका मातहतका वडाहरुले सार्बजनिक सुनुवाइ समेत नगर्ने गरेको,वडादेखि गाउँपालिकासम्म नागरिक वडापत्र र सूचना पेटीका उपयुुक्त प्रकारको नभएको गुनासो गरे ।
स्थानीय स्तरमा संचालन हुने शिक्षा ,स्वास्थ,कृषि ,पर्यटन तथा रोजगारमुलक कार्यक्रमबारे धेरैले थाहै नहुने गरेको बताए । यसका साथै स्थानीय नागरिकले खानेपानी समस्या, बजारमा ढल निकास ब्यवस्थापन लगायतका विषयमा गाउँपालिकाले ध्यान दिन नसकेको गुनासो गरे भने सेवाग्राहीका लागि सहयोग कक्ष (हेल्पडेस्क) राखिनुपर्ने, योजना अनुगमन, राजस्व संकलन ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाको सेवाप्रति सेवाग्राहीको सन्तुष्टि, नियमितता, जनबिश्वास, गुणस्तर, सूचनाको अभिमत सर्वेक्षण अनुसार गाउँपालिकाले राम्रो काम सम्पादन गरेको भन्दै प्रसंशा गर्नेभन्दा अझ जनमुखी र पारदर्शी बनाउनुपर्छ भनी धेरैले सुझाव समेत दिए ।
कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माण बजेट योजना समयमै सम्पन्न नहुने र आर्थिक वर्षको असार मसान्तसम्म छिटोछरितो काम गर्दा प्रभावकारी र गुणस्तरीय हुन नसक्नेमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सहभागीले राखेका जिज्ञासा, सल्लाह सुझाव र गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभापति बलिराम डंगौरा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की तथा विभिन्न शाखा प्रमुखले सेवाग्राहीले उठाएका कुराहरु निकै सान्दर्भिक भएको भन्दै आगामी दिनहरुमा सेवा प्रवाहलाई सशक्त तरिकाले सच्चाउदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,सेवाग्राही ,पत्रकारलगाएतको उपस्थिति थियो ।