
बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाका वडाहरुमा रिङरोड बन्ने भएको छ । रिङरोड निर्माणका लागि सुदुरपश्चिम प्रदेश सरकारले पालिकाको वडा न १, ३, ४ र ६ मा सर्वे गरेको छ ।बाँकी दुई वडामा पनि केही समयमै सर्वे गर्ने प्रदेश साँसद नन्द बहादुर साउँदले बताएका छन । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत पालिकाको वडा नम्बर १ र ६ जोड्ने दमौरी, छपाह बाघ, बास्कोटी, पृथ्बीपुर, सुगरखाल, जोकाही, जगतपुर हुदै छराई सडक खण्ड, वडा नम्बर ४ को मुडा बजार, नौनियाँ, पुरैनाताल, निमुवाबोझी, छतिवन हुदै ढोडरपुर सडक खण्ड र वडा नम्बर ३ को रानिकुण्डा रबि कुवँरको घर हुदै कोहलपुर चोक, मुक्तकमैया शिविर, प्रति बुटकौवा, झाला हुदै पिपल चौतारा सडक खण्डलाई रिङरोडको रुपमा जोड्दै स्तरउन्नती गरिने भएको छ। उल्लेखित शिर्षक अन्तर्गत सर्वेको काम सकिएकाले ईष्टीमेट तयार पारी भौतिक पुर्वाधार बिकास मन्त्रालयमा बुझाउने र मन्त्रालयले नै टेण्डर आह्वान गरी काम अघि बढाउने पुर्वाधार बिकास कार्यालयका ईन्जिनियर अनिल भट्टले बताए।