कैलाली/जिल्ला सुुुुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा १९ भदौसम्म बढाउन सिफारिस गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो ।
उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोलि आदेश जारी गर्नेछन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी भएको थियो । लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताउँदै आएको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन् । औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाईएको छ भने अत्यावश्यक कार्यका लागि घरबाहिर जाँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ ।
अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ । अहिले कैलालीमा कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाइने छैन् भने भीडभाड र जुलुस गर्न पनि पाईदैन भने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न रोक लगाइएको छ । खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा, मासुलगायत अत्यावश्यक वस्तुको हकमा बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाइन्छ ।