बुधबार, बैशाख १७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

दानवीर सामुदायीक वनका अध्यक्ष प्रेम बुढाले गरे उपभोक्ताको मन जित्ने काम(भिडियो सहित)

बौनियाँ कैलाली। कैलालीको मोहन्याल गाउँपालिका १ बडिकाथाईमा रहेको दानवीर सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ ।

 

 

सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको सो सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो ।

समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।

भौगोलिक रूपले विकट रहेकोे मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण सुगम बस्तीमा अझैसम्म सडक सञ्जाल, बिजुली र खानेपानीको पहुँच तथा सुविधा विस्तार हुन सकेको छैन । सडक सुविधाको पहुँचबाट बन्चित सो वडामा आवतजावतमा सहजताका लागि स्काभेटरको प्रयोग गरि १० दिन लगाएर बाटो काट्ने, चक्लाचौडा बनाउने र सम्याउने कार्य गरिएको उपभोक्ता समूहले जनाएको छ ।

२२६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले निर्माणाधीन सेतीलोकमार्ग सडक क्षेत्रभित्र पर्ने सडकले ओगटेको १ हजार २ सय ५० रुखहरु यसअघि कटानी गरेको थियो । २३ हजार ९ सय २२ क्युफिट काठ ठेक्कापट्टा प्रक्रियामार्फत बिक्रीवितरण तथा वन पैदावार गरि प्राप्त भएको २८ लाख आम्दानीमध्येबाट उक्त सडक निर्माणकार्यमा खर्च गरिएको उपभोक्ता समूहले जनाएको छ ।

सामुदायिक वनले आगामी दिनमा उपभोक्ताहरुलाई लक्षित गरि क्षमता विकास, गरीबी निवारण, विपन्न वर्गको आयआर्जन, सीपमूलक कार्यक्रम र बाख्रापालन लगायतका कार्यक्रम गर्ने योजना रहेकोे कार्यालय सचिव देव बोहराले बताउनुभयो ।

१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले जनाएको छ ।

विगत आर्थिक वर्षमा वडामा रहेका समुदायमा आधारित सरस्वती बालविकास केन्द्र, भृकुटी बालविकास केन्द्र र मोहन्यालमा माविमा २ लाख ४० हजार रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि नगद सहयोग गरिएको बताइएको छ ।

सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार नै उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । सोहीबमोजिम सामुदायिक वन विकास अन्तर्गत वन संरक्षणका लागि चोरीपैठारी, वन्यजन्तुको सिकारी, वन चरिचरण, आगलागी नियन्त्रणका नियमित प्रयास र रेखदेखका कार्य गरिएको सामुदायिक वन उपभोक्ता समूहकी सचिव नैसरा पुनले बताउनुभयो ।

त्यससंगै वृक्षारोपण, सीमा अतिक्रमण नियन्त्रण, पोथ्रा रुखविरुवाको जथाभावी फँडानी रोक्न नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम गरिएको सचिव पुनले बताउनुभयो ।

उहाँले यसवर्षको वार्षिक कार्ययोजना अन्तर्गत सामुदायिक वनको आम्दानीबाट स्थानीय बासिन्दाको मागअनुसार आवातजावतमा सहज पहुँच पुर्याउन उपभोक्ता समूहले निर्णय गरि बाटो निर्माणकार्य गरिएको बताउनुभयो ।

सामुदायिक वनको पहलमा गाउँसम्म मोटर सडकको विकास भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको छ । सडकको स्तरोन्नतिले स्थानीयलाई आउजाउमा सहजता भएको स्थानीय कपिल भारतीले बताउनुभयो । मोटरबाटोको विकास भएपछि स्थानीय बजारसम्म आउजाउ गर्न र आफूहरूलाई दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ल्याउनेलैजाने बाध्यता हटेको भारतीको भनाइ छ । ‘सडक नहुँदासम्म हामीले स्थानीय बजारबाट पैदल हिंडेर सामान ल्याउनुपर्ने बाध्यता थियो', उहाँले भन्नुभयो, ‘अब मालसामान ढुवानी र आउजाउमा धेरै सुविधा पुग्छ ।'

(हेर्नु होस् यो भिडियो सहित)

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation