बौनिया,कैलाली । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि जिल्लामा लागि परेका छन् । छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । कैलालीको बर्दगोरिय गाउपलिका वडा नं ४ का स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् । बालबिवाह र छाउपडी प्रथाले निम्त्याउदै आएको समस्या र यसको दिगो समाधानका लागि बर्दगोरियामा किशोरी समुहका सदस्य र अभिभावक बीच छलफल गरिएको छ । दलित महिला अधिकार मंच कैलालीद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत बर्दगोरिया ४ मा रहेको एकीकृत किशोरी समुहको आयोजनामा कार्यक्रम गरिएको हो ।
वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । विगतदेखि कैलाली लगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा दलित महिला संघ कैलाली जिल्ला सदस्य सुशील सुनारले बताइन । उनले भनिन, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उनले जानकारी दीइन ।
कार्यक्रममा सहभागी किशोरी समुहका सदस्यहरुले सरकारले कानुनी रूपमा प्रतिबन्ध लगाएको बाल बिबाह र छाउपडी प्रथा अझैपनि समाजमा व्याप्त रहेको भन्दै आफ्ना छोरी बुहारीको स्वास्थ्य सुरक्षाका लागि सम्वेदनशील बन्न आग्रह गरे । उनीहरूले समाजमा जरा गाडेर बसेको बालविवाह, छाउपडी प्रथा, जातिय विभेद तथा लैङ्गीक हिंसा जस्तो कुरिती अन्त्य गर्न आफुहरुले थालेको अभियानमा साथदिन अभिभावकलाई आग्रह गरे । उनीहरूले अहिले पनि सामाजिक ,सास्कृतिक तथा धार्मिक कारण देखाउदै अभिभावककै डर धम्कीले बाध्यताबस छोरी बुहारी छाउगोठमा बस्न बाध्य भएको पाइएको गुनासो गरे ।
कार्यक्रममा परिवर्तनशील किशोरी समुह बर्दगोरिया ३ कि संयोजक हेमु हमालले बालविवाहलाई कानुनले निषेध गरेपनि अशिक्षा, अज्ञानता, गरीबी लगायतका कारणले समाजमा अझै बालविवाहले जरा गाडेर बसेको बताइन् । उनी भन्छिन ‘शिक्षाको पहुँच बढाउन जरुरी छ, यसका लागि सबैले हातेमालो गर्नपर्छ। उनका अनुसार समाज परिवर्तनका लागि आफुहरुले यी अभियान थाल्दा निकै डर धम्की र त्रास समेत खेप्नु परेको छ । हामी किशोरीहरु संगठित भयर यसको न्यूनीकरणको अभियानमा जुटेका छौ, हाम्रो समाजमा अहिले पनि जनचेतनाको अभाव देखिन्छ ,यसैको उपज सामाजिक विकृति कायमै छ्न । यसको रोकथाम र नियन्त्रणका लागि हामीले अभियान थाल्दा थुप्रै समस्या र चुनौती खेप्नु परेको छ ।
कार्यक्रममा समाजमा बाल बिबाह र छाउपडी प्रथा अन्त्यको अभियानमा सक्रिय बिपना बम भन्छिन – बालविवाह रोकथाम अभियान प्रभावकारी बनाउन किशोरी वृत र अभिभावक तथा सरोकारवाला निकाय जागरुक हुन जरुरी छ। उनले परम्परागत सोच, धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताकै कारण छाउप्रथाले समाजमा विकराल रुप लिएको बताईन ।
उनी भन्छिन- हामीहरु किशोरी वृतका सदस्य समुहमा मात्र होइन गाउँमा समेत बालविवाह रोकथामका लागि चेतना जगाउदै आएका छौ । यसमा सबैको सहयोग आवश्यक छ, अझभन्नू पर्दा अभिभावकले आफ्ना छोराछोरी र बुहारीको भविस्य प्रति चनाखो हुनुपर्ने देखिन्छ ।
कार्यक्रममा एकीकृत किशोरी समुहकी संयोजक कन्चन सुनारले महीनावारी (छाउ) हुनु प्रकृतिको नियम भएकाले परम्परागत रुपमा समाजमा छाउपढी प्रथा मान्ने वृद्धवृद्धा तथा धामीझाँक्रीले पनि नमूना व्यक्तिको पहिचान दिन सक्नुपर्ने र सामाजिक कलङ्कको रुपमा रहेको छाउप्रथालाई अन्त्य गर्नुपर्ने बताईन । उनले भनिन् – छाउपडी (महिनावारी ) हुदा छोरी बुहारीलाई घरदेखि टाढा अलग्गै बसोवास गराइन्छ । प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । त्यसैले छाउपडी महिलाहरु सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन्, दीर्घ रोगी बनिरहेका छन् । कोही बलात्कृत भइरहेका छन् ।
कार्यक्रममा आमा समुहको तर्फबाट सावित्री सापकोटाले सानैमा विहे गरे शैक्षिक क्रियाकलापमा समेत सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताईन ।
कार्यक्रममा बर्दगोरिया ४ का वडा अध्यक्ष पुरन सिंह बीसीले छाउपडी प्रथा गरिबी, विभेद, विकटता लगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको भन्दै यसलाई नियन्त्रणका लागि विभिन्न कोणबाट कदम चाल्नुपर्ने बताए । उनले सरकारले पनि कानुनी प्रतिबन्धले मात्रै बाल बिबाह र छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने भन्दै समुदायलाई साथ लिने हिसाबमा नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा दलित महिला अधिकार मंच कैलालीकी सदस्य सुशीला सुनारले बालविवाह,छाउपडी प्रथाजस्ता सामाजिक विकृति र कुरितीविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताईन ।
। उनले बर्दगोरियामा किशोरी समूह गठन गरि उनीहरूको व्यक्तित्व विकास र सामाजिक अपराध जस्ता क्रियाकलाप न्यूनीकरणमा आफुहरुले उत्प्रेरित गर्दै आएको जानकारी दिईन ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून विदहरु बताउँछन् ।२० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने/गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।