Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीका १० मध्ये ७ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न 

टीकापुर:नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा शुक्रबार ७ तहको प्रदेश क्षेत्रीय अधिवेशन सकिएको छ ।

शुक्रबार राति अबेरसम्म प्राप्त विवरण अनुसार कैलालीका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये ७ वटा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन गरिएको हो । 

जसअनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेशसभा क्षेत्रीय सभापतिसहितको नेतृत्व चयन लागि सर्व सहमति प्रयास भइरहेको छ भने, प्रदेश सभा १(२) को क्षेत्रीय सभापतिमा बलिराम चौधरी निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २(१) को प्रदेश सभा क्षेत्रीय सभापतिमा भिमप्रसाद जैशी निर्वाचित हुनुभएको छ भने, क्षेत्र नम्बर २(२) को प्रदेश सभा क्षेत्रीय सभापति तेजप्रताप मल्ल चयन प्यानलसहित विजयी हुनुभएको छ । 

त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा क्षेत्रीय सभापतिमा रामप्रसाद चौधरी र क्षेत्र नम्बर ३(२) प्रदेश सभा क्षेत्रीय सभापतिमा कमलराज चौधरी निर्वाचित हुनुभएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ४(१) को प्रदेश सभा क्षेत्रीय सभापतिमा काशिराम शर्मा र क्षेत्र नम्बर ४(२) को प्रदेश सभा क्षेत्रीय सभापतिमा गोपाल दत्त भट्ट निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानीसंग जोडिएको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ अन्तर्गतका दुबै प्रदेश सभा क्षेत्रीय अधिवेशनमा कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि शनिबार सहमतिको प्रयास भइरहेकोे पार्टीको जिल्ला प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले बताउनुभयो ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित भएको बताइएको छ ।

प्रदेश सभा कार्यसमितिमा एक जना सभापति, दुईजना उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिएका हुन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।

सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्नेछन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल–माथि हुनेछ ।

प्रदेश भरी एक सय ७० जना प्रदेश प्रतिनिधी चयन गरिनेमा मनोनयन दर्ताका क्रममा दुई सय बढी जनाले दर्ता गराएको प्रचार प्रसार विभाग प्रमुख सुनारले बताउनुभयो ।

प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएलगत्तै मंसिर ६ गते प्रतिनिधी सभा क्षेत्र अन्तर्गतको अधिवेशन हुनेछ । सो अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन धनगढीको ओम प्यालेसमा गरिने पार्टी सभापति नरनारायण शाह मनुले बताउनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation