आइतवार, बैशाख २, २०८१

सुदूरपश्चिम प्रदेश सभापतिमा कांग्रेस नेता हिम रावलको उम्मेदवारी घोषणा

टीकापुर/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति कांग्रेस नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गतेदेखि हुन लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी रहेकोे उहाँले घोषणा गर्नुभएको हो । शुक्रबार पत्रकार सम्मेलन गरि नेता रावलले आफूलाई नेताकार्यकर्ताको सहयोग रहने अपेक्षा लिइएको बताउनुभयो । हालै सम्पन्न पार्टीको क्षेत्रीय अधिवेशनमा कैलाली क्षेत्र नम्बर–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएका नेता रावलले प्रदेश अधिवेशनमा सुदूरपश्चिम प्रदेशको पार्टी सभापतिको पदमा लड्ने बताउनुभयो ।

 

पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित उहाँले अहिले पार्टीलाई थप बलियो, सुदृढीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताउनुभयो । ‘मैले पार्टीका शीर्ष नेता, सभापतिका आकांक्षी, महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसार नै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ उहाँले भन्नुभयो ‘प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुला ।’

 

प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्थ रावलले अहिले प्रदेश सभापति सर्वसम्मत रुपमा आफूलाई बनाउन आग्रह गर्नुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनसिंह राठौर, महाधिवेशन प्रतिनिधि भक्तबहादुर थापा, रंग सुनार, क्षेत्रीय सभापति विष्णुप्रसाद ढकाल, लम्कीचुहा नगर सभापति इन्द्रबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेश सभापतिका लागि कैलालीका सभापति नरनारायण शाह मनु र बझाङबाट अर्जुनजंग सिंह आकांक्षी रहेको चर्चा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation