बौनियाँ, कैलाली-सेती लोक मार्ग अन्तर्गत पर्ने कैलालीको काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आइतबार टेन्डर आह्वान गरेको छ ।
एक महिना समय अवधि राखेर टेन्डर आह्वान गरेको र त्यस लगत्तै निर्माण व्यवसायी छनौट गरी पुल निर्माणको काम अघि बढाउने मन्त्रालयले जनाएको छ । सेती लोक मार्ग सुदूरपश्चिमको गौरवको आयोजना भए पनि लामो समय देखी निर्माणको गति लिन नसकेकोमा पछिल्लो समय भने आयोजना महत्त्वको साथ अघि बढ्न थालेको छ । आफू निर्वाचित भए यता सेती लोक मार्ग निर्माणका लागी निरन्तर लागी परेको कैलाली निर्वाचन क्षेत्र नम्बर २ का सङ्घीय सांसद झपटबहादुर रावलले बताए ।
उनले भने,… “विगतमा जनता माझ सेती लोक मार्गको चर्चा गर्ने र राजधानी पुग्दा बिर्सने परिपाटी रहेछ । यसको तीव्र निर्माणको लागी कसैले पनि मजबुत पहल गरेको पाइएन । विगतको लापरबाही र बेवास्तालाई देखेर नै म यसका लागी कम्मर कसेर लागे र अहिले सरकारले पनि केही महत्त्वका साथ हेरेको छ ।” लोक मार्गमा हाल दुई वटा पुलको टेन्डर खोलिएको र कुइरा नदी सहित केही खोलामा पुल निर्माणका लागी दुई महिना भित्र पुनः नयाँ टेन्डर हुने सांसद रावलको भनाई छ । विगतमा बौनियाँलाई जिरो प्वाइन्ट मानिएको लोक मार्ग सांसद रावलकै पहलमा टीकापुरलाई जिरो प्वाइन्ट मानेर पुनः सर्भे गरिएको थियो ।