धनगढी/धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)अन्तर्गत बुधबार भएका खेलमा कैलालीको बाल बाटिका र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो । न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ् खेले । उनले ५१ रनको अर्धशतकीय इनिङ् खेले पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
न्यू एकेडेमीका लागि समिर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान दुई(दुई) विकेट लिए । कमल ओलीले एक विकेट लिए ।
न्यू एकेडेमीले दिएको १ सय १२ रनमो लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बाल बाटिकाको जितमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराट सिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक(एक) विकेट लिए । खेलका म्यान अफ दी म्याच बाल बाटिकाका कमल ओली भए ।
बुधबार नै भएको दोस्रो खेलमा काठमाडौंको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । उसका लागि दीपक बोहराले ९३ र सुदिप बस्नेतले २३ रन बनाए ।
शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १(१) विकेट लिए । १ सय ९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दीनेश ओडले ९०र अर्जुन साउँदले २३ रन बनाए ।
ह्वाइट हाउसको जितमा सन्दिप जंग शाहीले ४ र रजत तिमिल्सिनाले २ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका सन्दिप जंग शाही भए । दुई खेलमा जित हात पारेको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । आयोजकका अनुसार भोलि पहिलो खेल लिटल फ्लावर र शारदा मावि तथा दोस्रो खेल धनगढी नमुना र स्टेपिङ स्टोनबीच हुनेछ । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।