
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ।
विप्लवको बन्दको प्रभाव कैलाली र कञ्चनपुरसहित प्रदेशका ९ वटै जिल्लामा देखिएको छ। तर सार्वजनिक सवारीको सेवा भने नरोकिएको प्रहरीले जनाएको छ। प्रदेशको राजधानी समेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले स्कटिङ गरेर भएपनि सवारी साधनलाई गन्तव्य पठाइरहेको बताए।
बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने सवारी साधनलाई स्कटिङ गरेर पठाइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
यस्तै कञ्चनपुर प्रहरीले समेत गएरातिदेखि नै स्कटिङ गरेर सार्वजनिक सवारी चलाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सम्भावित घटनाहरुलाइ मध्यनजर गरि स्कटिङ गरेर सवारी साधन चलिरहेको बताए। कञ्चनपुर प्रहरीले समेत गएरातिदेखि नै स्कटिङ गरि सार्वजनिक गाडीहरु चलाइरहेको जनाएको छ।
सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको छ।
विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ।
उनीहरुको रिहाइको माग गरिएको छ।