बौनियाँ,कैलाली- हिन्दु नेपाली नारीको मुख्य पर्व हरितालिका तिजको अबसरमा कैलालीको बर्दगोरिया १ कट्टिपुरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताको उपाधी दिपिका पालले जितेकी छन ।
पछिल्लो समय सामाजिक कार्यमा सक्रिय बनेको बर्दगोरिया एकता युवा कल्वको आयोजनामा नृत्य प्रतियोगितामा उनी प्रथम स्थान हासिल गर्दै बिजयी बनिन । उनले नगद ५ हजार रुपैया प्राप्त गरिन ।यसैगरी प्रतियोगितामा लक्ष्मी केसि दोस्रो र निरुता जोशी तेस्रो बनिन । उनीहरूले क्रमस नगद १५००र५०० प्राप्त गरेका छन ।पछिल्लो समय तिज पर्व मनाउने नाममा छाडापन र मौलिकता लोप हुन गएको भन्दै सस्कृतिको सम्मान र जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता गरिएको क्लबका अध्यक्ष कमल विष्टले जानकारी दिए ।प्रतियोगितामा तिज गितमा मात्रै नृत्य प्रस्तुत गराइएको थियो ।
मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो, टेलिभिजन र अनलाइन मीडियामा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दु:ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।
चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो ।
तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।