कैलाली –स्थापनाको छोटो समयमै कैलालीका चार वटा पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा बागी उठेका उम्मेदवारलाई कारवाही गरेको छ ।
कारागारमा रहेको निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्तिले कैलाली क्षेत्र नं. १ को प्रदेशमा बागी उठेका पार्टीका दुई जना नेतालाई पार्टीबाट निस्कासित गर्दै कारवाही गरेको हो ।
श्रेष्ठद्धारा जारी विज्ञप्ति अनुसार कारवाही पर्नेमा प्रदेश क का उम्मेदवार सन्तोष कठरिया र प्रदेश ख का उम्मेदवार गणेश चौधरी रहेका छन् । कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् ।
अध्यक्ष श्रेष्ठद्धारा जारी विज्ञप्तिमा ‘नागरिक उन्मुक्ति पार्टीको विरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ भनिएको छ ।
कठरिया जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड तथा चौधरी टीकापुर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन् । कठरियाले पार्टीको संगठन विस्तारका साथै जोशीपुर गाउँपालिकामा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलको बताइन्छ ।
कठरियाले पार्टीमा पछिल्लो समय बढ्दै गएको विकृति, अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी परित्याग र्गै स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका थिए ।