सुखड,कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपट बहादुर रावलले मतदाताको एक भोटले सरिता गिरी जन्माउन सक्ने बताएका छन् । समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी गिरी पार्टीको ह्विपका बाबजुद पनि देशको नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन ।
नेपालको सांसद भएर देशको गुमेको भूमि सहितको चुच्चे नक्सा जारी गर्न संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर भारतलाई साथ दिएको भन्दै नेता रावलले भने,…“यो देश र जनताको लागी दुर्भाग्यको विषय हो । तपाई हाम्रो सानो गल्तीले धेरै सरिता गिरीहरू पनि जन्मिन सक्छन् । त्यसैले आफ्नो मत दिने कुरालाई सामान्य रूपमा हेर्नु हुँदैन ।” उनले थपे,… “मङ्सिर ४ मा हुने निर्वाचन स्थानीय तहको निर्वाचन जस्तो होइन । देशको भाग्य र भविष्य कोर्ने निर्वाचन हो । त्यसैले सही पार्टी र उम्मेदवार छान्न सक्नु पर्छ । त्यो सही पार्टी भनेकै नेकपा एमाले हो ।”
देशको विकास र समृद्धिका लागी नभई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउन र आफ्नो विरासत जोगाउन केही समयका लागी लोभि पापीहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै उनले बिचार, सिद्धान्त र लक्ष्य विहीनहरूको समूह हाबी भएमा देश सिक्किमको दिशामा अघि बढ्ने खतरा भएको बताए । आन्तरिक राजनीतिक द्धन्द चर्केर परनिर्भरता बढ्दै गएपछि सिक्किमको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेको थियो । जसका कारण सन १९७५ मा सिक्किम राज्यको स्वतन्त्र इतिहास समाप्त भएको थियो ।
निवर्तमान सांसद समेत रहेका रावल आसन्न मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हुन । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।