
कैलाली । स्थानीय चार राजनीतिक दलले स्थानीय तहमार्फत् वितरण गरिने सामाजिक सुरक्षा भत्तामा रोक लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कैलालीको बर्दगोरियामा गाउँपालिकामा रहेका सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले मंगलबार बौनियाँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि आपत्ति जनाएका हुन् । गाउँपालिकाको वडा नम्बर १ र ३ मा सोमबार वितरण गर्न लागिएको सामाजिक सुरक्षा भत्ता पूर्व सूचना बिना एकाएक रोकिएपछि ज्येष्ठ नागरिक खाली हात घर फर्किएका थिए ।
वडास्तरमै ज्येष्ठ नागरिकलाई बोलाएर वितरण गर्ने तयारी गरिएपनि आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचारसंहिताले वितरण गर्न नमिल्ने भन्दै बैंक कर्मचारी जान नमानेपछि रोकिएको थियो । वृद्धवृद्धा रित्तो हात घर फर्किएपछि स्थानीयले जनप्रतिनिधि र राजनीतिक दलप्रति लक्षित गर्दै विरोध जनाएका हुन् ।
बर्दगोरियामा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले संयुक्त पत्रकार सम्मेलनमा गठबन्धनले वृद्धभत्ता वितरण कार्य रोकेको आरोप मिथ्या र भ्रामक भएको जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका अध्यक्ष रामबहादुर साउँद (आयाम) ले स्थानीय तहको अधिकारमा रहेको विषयमा राजनीतिक दलले अवरोध गरेको भन्नु मिथ्या र भ्रामक आरोप भएको बताए ।
कोष लेखा नियन्त्रण कार्यालय मार्फत् आजभन्दा २१ दिन अघि निकासा भएको सामाजिक सुरक्षा भत्ता रकम बैंकमा जाम किन भयो ? वृद्धवृद्धा ज्येष्ठ नागरिकलाई वितरण गर्न कसले रोक्यो ? उनले भने, ‘यो कमिकमजोरी राजनीतिक दलको नभइ स्थानीय जनप्रतिनिधिको हो ।’ प्रशासन र स्थानीय तहको अधिकारको विषयमा राजनीतिक दलमाथि लक्षित गरी विरोध जनाउनु सान्दर्भिक नभएको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्षको अधिकार र निर्णयबाट हुने कुरा कसरी अरुले रोक्न सक्छन् ? उनले भने, ‘यो निर्वाचनको बेला पराजित मानसिकताले त्रसित भएको एमालेले कसरी गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सकिन्छ भनेर लगाइएको झुठो आरोप हो ।’ उनले एमालेले जनतामा भ्रम सिर्जना गरी जित हासिल गर्ने प्रपञ्च रचेको बताए । उनले जनताले पाउने सेवासविधा समयमै पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए ।
यस्तै, नेपाली कांग्रेस बर्दगोरियाका सभापति कृष्ण विष्टले सरकारी निकायले सरकारी प्रक्रियाकामार्फत् रकम निकासा गर्ने भएकाले गठबन्धनमाथि लगाइएको आरोप मिथ्या र झुठो भएको बताए । उनले सार्वजनिक पदधारण गरेका जनप्रतिनिधिबाट नै गैरजिम्मेवारी काम भएको भन्दै आपत्ति जनाए । वडाका अध्यक्ष र पालिका अध्यक्षले भम फैलाएको आरोप लगाए । उनले भने, ‘यदि गाउँपालिकामा आएको वृद्धभत्ता रकम गाउँपालिकाले चाहे केही दिन लम्ब्याउन सक्ने तर, वितरणमा रोक्ने अधिकार कसैलाई पनि छैन । गाउँपालिका कार्यसमिति बाहेक अरु कसैले पनि रोकेको भन्नु मिथ्या आरोप हो ।’
निर्वाचन लक्षित गरी निर्वाचनलाई असर नपर्ने गरी सम्बन्धित तहबाटै रोकिएको हो भन्ने मैले बुझेको छु, उनले भने, गठबन्धनले रोकेको भन्नुमा कुनैपनि सत्यता छैन ।’