
कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा हाल ४८ हजार ५ सय ६४ मतदाता छन् । जुन गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा ८ सय २१ ले बढी हो । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा ४७ हजार ७ सय ४३ मतदाता थिए । जस मध्ये ६४.६१ प्रतिशत अर्थात् ३० हजार ८ सय ४८ मत खसेको थियो । २२ हजार १ सय ८१ मतदाता रहेको बर्दगोरिया गाउँपालिकामा १४ हजार ९ सय ७२ मत खसेको थियो ।
यस्तै १९ हजार ५ सय ५९ मतदाता रहेको लम्कीचुहा नगरपालिकाका ४ वटा वडाबाट १२ हजार ५ सय ६३ मत खसेको थियो । उता मोहन्याल गाउँपालिकाका ४ वटा वडामा रहेको कुल मतदाता सङ्ख्या ५ हजार ९ सय ९४ मध्ये ३ हजार ३ सय १३ मत खसेको थियो ।
प्रदेश सभा (ख) मा एमालेको उपस्थिति
स्थानीय निर्वाचनलाई आधार मान्दा प्रदेश सभा (ख) मा नेकपा एमाले निकै बलियो देखिन्छ । एमालेको पक्षमा बर्दगोरिया गाउँपालिकाबाट ३ हजार ४ सय ८९ मत खसेका थिए । यस्तै लम्कीचुहा नगरपालिकाबाट २ हजार ६ सय ९३ मत खसेका थिए । भने मोहन्याल गाउँपालिकाबाट ८ सय ३२ मत खसेका थिए । सो अवस्थालाई आधार मान्ने हो भने प्रदेश सभा ख मा नेकपा एमालेका ७ हजार १४ मत सुनिश्चित छन् ।
प्रदेश सभा (ख) मा काँग्रेसको उपस्थिति
स्थानीय निर्वाचनलाई आधार मान्दा प्रदेश सभा (ख) मा नेपाली काँग्रेस दोस्रो स्थानमा देखिन्छ । काँग्रेसको पक्षमा बर्दगोरिया गाउँपालिकाबाट ३ हजार १ सय ७६ मत खसेको थियो । यस्तै लम्कीचुहा नगरपालिकाबाट २ हजार ९ सय १७ (गठबन्धन दलका समेत) मत प्राप्त गरेको काँग्रेसले मोहन्याल गाउँपालिकाबाट १ हजार २ सय ८९ मत प्राप्त गरेको थियो । यही अवस्थालाई आधार मान्दा प्रदेश सभा ख मा नेपाली काँग्रेसका ७ हजार ३ सय ८३ मत देखिन्छन् । तर गठबन्धनका कारण लम्कीचुहाका ४ वटै वडामा नेकपा माओवादी केन्द्रले प्राप्त गर्ने मत समेत काँग्रेस र समाजवादीलाई गएको देखिन्छ ।
प्रदेश सभा (ख) मा माओवादी केन्द्रको उपस्थिति
स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिन्छ । त्यो अवस्थामा माओवादीको पक्षमा बर्दगोरिया गाउँपालिकाबाट २ हजार ६ सय २९ मत प्राप्त गरेको थियो । प्रदेश सभा (ख) मा पर्ने लम्कीचुहाका ४ वटा वडा र बर्दगोरियाको एउटा वडामा आफ्ना उम्मेदवार नउठाएको माओवादीले मोहन्याल गाउँपालिकाका ४ वटा वडाबाट भने १ हजार १ सय ९३ मत प्राप्त गरेको थियो । सोही अवस्थामा माओवादीले ३ हजार ८ सय २२ मत प्राप्त गरेको थियो । तर बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ५ मा स्वतन्त्रबाट चुनाव जितेका वडा अध्यक्षले प्राप्त गरेको ६ सय ३९ मत समेत आफ्नो रहेको र लम्कीचुहाका ४ वटा वडामा समेत आफ्नो पार्टीको भारी मत रहेको पनि उसको दाबी छ ।
प्रदेश सभा (ख) मा अन्य दलको उपस्थिति
यस्तै स्थानीय तह निर्वाचनलाई नै आधार मान्दा प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका ३ हजार ५ सय २२ मात सुरक्षित छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका १ हजार ३ सय ३७, जनता समाजवादी पार्टीका १ हजार १ सय ३१, एकीकृत समाजवादीका ४ सय ९२, मङ्गोलका १८, जनमोर्चाका ५, नेमकिपाका ३ र स्वतन्त्रका २ हजार १ सय ७४ मत छन् ।
गठबन्धन बलियो
स्थानीय तह निर्वाचनलाई आधार मान्दा प्रदेश सभा (ख) मा गठबन्धनको कुल मत ११ हजार ७ सय ५ देखिन्छन् । यस्तै स्थानीय तह निर्वाचन भन्दा मङ्सिर ४ को निर्वाचनमा यस क्षेत्रबाट ८ सय २१ नयाँ मतदाता थपिएका छन् । गठबन्धन सँग प्रतिस्पर्धा गर्न ७ हजार १४ मतका साथ एमाले, ३ हजार ५ सय २२ मत सहित नागरिक उन्मुक्ति, १ हजार ३ सय ३७ मत सहित राप्रपा र स्वतन्त्रहरू समेत चुनावी मैदानमा छन् । गठबन्धनका कारण यस निर्वाचनमा प्रदेश सभा (ख) मा नेपाली काँग्रेसले माओवादीका उम्मेदवारलाई मतदान गर्नु पर्नेछ । यद्धपी काँग्रेसबाट रुष्ट बनी स्वतन्त्रबाट उम्मेदवारी दिएका भरत कुमार शाही पनि उम्मेदवार नै छन् ।
आफ्नो आधिकारिक उम्मेदवार नभएका कारण काँग्रेसको मत नै निर्णायक बन्ने देखिन्छ । गठबन्धनका उम्मेदवार सहजै चुनाव जित्ने पक्षमा छन् भने अन्य दलहरू काँग्रेसको मत प्रभावित पार्ने दाउमा देखिन्छन् । प्रदेश सभा (ख) मा बर्दगोरिया गाउँपालिकाका ६ वडा, लम्कीचुहा नगरपालिकाका वडा नम्बर ६, ८, ९ र १० गरी ४ वडा र मोहन्याल गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ गरी ४ वटा वडा पर्दछन् ।