
कैलाली । कैलालीको बर्दगोरियामा भारत बाट नेपाल घुम्न आएका भारतीय नागरिकको आक्रमणबाट कैलालीको बर्दगोरियामा एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुर निवासी ४२ वर्षिय लाल बहादुर बोहोराको मृत्यु भएको हो ।भारतीय नागरिकको आक्रमणबाट गम्भीर घाइते बोहोराको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा ज्यान गएको आफन्तले बताएका छ्न ।
स्थानीयका अनुसार वडा नम्बर १ को बादी बस्तीमा खुलेयाम भइरहेको देहव्यापारले बोहराको ज्यान गएको हो । देहव्यापारमा आएका भारतीय ग्राहकले आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए ।
स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो होटल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले पनि उनले अवरोध गरेका थिए । त्यही क्रममा मदिराले लट्ठिएका दुई जना भारतीयले उनलाई निर्घात कुटपिट गरेका थिए । प्रहरीका अनुसार घटना पश्चात उनीहरू फरार छन् ।
कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरी आफ्नो नियन्त्रणमा रहेको र फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यता दोषीलाई कारबाही र देहव्यापार बन्द गर्न मागगर्दै पुर्वपश्चिम् राजमार्ग अबरुद्ध पारिएको छ ।