Baigyanik Media

Advertisment

SKIP THIS

किसानका सूचना अब ‘कृषि फर्म’ एपमा

किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताउनुभयो ।

 

परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषि शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषि फर्म मोबाइल एप जडान गरिएको छ । किसानले एपमार्फत् कृषि विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सूचना प्राप्त गर्न सक्छन् । एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीको भनाइ छ । उक्त सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउनेछन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत् लिन सकिनेछ ।

 

गाउँपालिकाले सञ्चालन गरेको एपमा काठेखोलाका चार सय ६९ जना कृषक जोडिएका छन् । कृषकहरुको व्यक्तिगत तथा खेतीबालीको विवरण एप्समा समावेश गरिएको विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो । किसानले आफ्नो मोबाइल एपमार्फत् विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेका रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् । प्राविधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोबाइलमा एपमार्फत पुग्नेछ । पढ्न र लेख्न नसक्ने किसानका लागि भिडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ । कृषि सूचना प्रणालीमा कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । “कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ”, उहाँले भन्नुभयो, “घरमै बसेर समस्या समाधान गर्न सक्नेगरी पहल गर्छौं ।”

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation