बौनियाँ । तलब भत्ता र सवारी सुविधा नलिएर चर्चामा बटुलेका वडा अध्यक्ष जगतबहादुर शाहीले एक बालिकाको अभिभावक बनेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका-४ का वडाध्यक्ष सामाजिक कार्यमा सक्रिय छन् ।
जनताको सेवालाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेका मनकारी वडाध्यक्ष शाहीले बालिकाको शैक्षिक जिम्मेवारी लिएर अभिभावक बनेका हुन् ।
यसअघि उनले आफूले पाउँदै आएको तलबभत्ता रकम आँखा शिविर र युवायुवतीको जीविकोपार्जनका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरेका थिए ।
उनले सोही पालिकामा वडा नम्बर ४ मा बस्दै आएकी दीपिका डंगौराको शैक्षिक व्यवस्थापनको जिम्मेवारी लिएका हुन् । महुन्याल माविमा कक्षा १२ मा व्यवस्थापन संकायमा पढ्दै गरेकी उनको वार्षिक अध्ययन शुल्क भुक्तानी दिएका हुन् ।
विद्यालयमै पुगेका वडाध्यक्ष शाहीले ८ हजार ८ सय रुपैयाँ सहयोग गरेको बताए । ‘अघिल्लो वर्षदेखि यी बालिकाको अभिभावक बनेर शैक्षिक विकासमा सहयोग गर्ने प्रण गरेको थिएँ । उनले भने, ‘अहिलेसम्म बालिकाको पढाईमा नियमित चासो र निगरानी गरिरहेको छु । मैले सामाजिक सेवा र कर्तव्य पूरा गरेको महसुस गरेको छु ।’
दीपिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले आफ्नो पारिश्रमिकबाट खर्च व्यहोर्दै आएको उनको भनाइ छ । वडामा रहेका गरीब, विपन्न, असहाय र शारीरिक अशक्त व्यक्तिको सहयोग र राहतमा आफू अनवरत रूपले भूमिका निर्वाह गरिरहेको उनले बताए ।
यस्तै, आफ्नो अभिभावकीय जिम्मेवारी बहन गरेको भन्दै छात्रा दीपिका डंगौराले खुसी व्यक्त गरिन् । पढाईप्रति वडाध्यक्ष शाहीले गरेको सहयोग आफूलाई हौसला मिलेको उनलेे बताइन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पढाई छोडनुपर्ने बाध्यता थियो । उनले भनिन्, उहाँको सहयोगले अध्ययनलाई निरन्तरता दिइरहेकी छु ।
उनले आफ्नो वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयको निरन्तर अनुगमन गर्दै बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आएका थिए ।






















































































































































