
काठमाडौँ । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन शुरु भएको हो ।मुहुर्तमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको उपस्थिति थियो ।
मुहूर्तसँगै फिल्मको छायांकनका लागि निर्माण टिम धुलिखेल तर्फ लागेको छ । धुलिखेलमा फिल्मको तीन दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । त्यसपछि काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन हुने बताइएको छ । फिल्मको छायांकन करिब ६० दिनमा सकिने भएको छ ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहनेछ ।यसमा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको छ ।फिल्मको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा छ । उज्जवल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।