धनगढी । सुदूरपश्चिम महोत्सव भोलि मंसिर २२ गतेबाट पुष महिना २ गते सम्म संचालन हुँदैछ। आज कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ‘सुदूरपश्चिम महोत्सव–२०८१’बाट संकलन भएको रकमबाट सुदूरपश्चिम रोयल्सलाई दिने भएको हो ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवमा कृषि, जडिवुटी, हस्तकला ,फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सुचना प्रविधि गरि करिब पाँच सय ३१ स्टल रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
उनले भने ‘महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुनेछ भन्ने विश्वास लिएका छौँ ।’
उनले महोत्सव सम्पन्न गर्न करिब तीन करोड लाग्ने अनुमान गरेका छौँ । महोत्सवमा उद्योगी,व्यवसायीको करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए । महोत्सवमा यसपटक राष्ट्रिय कलाकारलाई अगाडि समय दिने जनाइएको छ ।
सुरक्षाको दृष्टिकोणले पूर्णरुपमा अत्याधुनिक सीसी क्यामराले निरीक्षण गरिने तथा निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बालवालिका र खेलमा रुची भएका दर्शकहरुको रुचीलाई प्राथमिकता दिइ महोत्सवमा नयाँ एक्युरेअम पनि रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।
टिकट अनलाइनमार्फत समेत काट्न सकिने र इन्टरनेट पार्टनर भायानेट रहेको जनाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५०,सर्वसाधारणलाई रु. १ सय टिकटदर राखिएको तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने उनले बताए । महोत्सव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा १० वटा मागसहित प्रमुख अतिथिलाई १० किलोको माला लगाइने संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।
संघले विसं.२०६३ सालदेखि ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्दै आएको छ । यो सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण हो । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने तथा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।