काठमाडौँ, राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गर्नुभएको छ ।सभाको आजको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताउनुभयो । उहाँहरूले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सभा सदस्यहरू तुलसाकुमारी दाहाल, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, पदमबहादुर परियार, राजेन्द्रलक्ष्मी गैह्रे, मदनकुमारी साह (गरिमा) उर्मिला अर्याल, डा वेदुराम भुसाल, कृष्णप्रसाद अधिकारी, नारायणदत्त मिश्रलगायत सहभागी हुनुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































