सिद्धार्थनगर (भैरहवा), विश्वभर अटिजमसम्बन्धी चुनौती बढ्दै गएकाले यसबारे समाजमा सही बुझाइ विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।उन्नाइसौँ विश्व अटिजम सचेतना दिवस पारेर भैरहवामा आयोजित सचेतनामूलक कार्यक्रमका वक्ताहरूले अटिजम रोग नभई एक प्रकारको अवस्था भएको उल्लेख गर्दै समयमै पहिचान, उचित हेरचाह र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँहरूले अटिजम भएका बालबालिकालाई समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने र अभिभावकलाई सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अटिजम विशेषज्ञ तथा थेरापिस्ट समिद कातिला श्रेष्ठले अटिजम भएका बालबालिकाको आवश्यकता फरक–फरक हुने भएकाले व्यक्तिगत रूपमा उनीहरूको व्यवहार बुझेर सहयोग गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस्ता सचेतनामूलक कार्यक्रमले अटिजमबारे जानकारी विस्तार गर्दै समावेशी समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुयभो ।
यस्तै, अटिजम सचेतना अभियन्ता नीलम लामा, नन्दु भण्डारी, सुरज भुसाल, पुष्प चक्रधरलगायतले अटिजम भएका बालबालिकालाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिनुभयो । उहाँरूले समाजमा अझै रहेको गलत धारणा हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































