मध्यविन्दु (नवलपरासी), बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको करिब २४५ मिटर लम्बाइको विनयी खोला पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
यसअघि सोही स्थानमा रहेको फलामे पुल करिब दुई वर्षअघि भत्किएपछि अस्थायी डाइभर्सन सडकमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । वर्षा याममा बाढीका कारण डाइभर्सन प्रयोग गर्दा पटकपटक आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको थियो । योसँगै नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका सबै पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको इञ्जिनियर खनालले बताउनुभयो ।
“आयोजनाअन्तर्गत पूर्वी खण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “पूर्वी खण्डमा निर्माण गर्नुपर्ने २११ कल्भर्टसमेत पूर्ण रूपमा सम्पन्न भइसकेका छन् ।”बुटवल–नारायण सडक खण्डको गैँडाकोटदेखि दुम्कीबाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ भने अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय समाचार समिति (रासस)






























































































































































