अत्तरिया (कैलाली), कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो ।भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ रु ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ ।
कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको छैन् ।
साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।
कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा रु ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयको गत आव २०८१/८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।राष्ट्रिय समाचार समिति (रासस)




























































































































































