सिरहा, जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् ।कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, तर रोगको जोखिमले गर्दा अहिले रुखहरूमा करिब १० प्रतिशत मात्र फल बाँकी रहेको छ ।केन्द्रका सूचना
अधिकृत सुदीप खनालले भन्नुभयो, “सिरहाको करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको आँपखेतीबाट यसपटक उल्लेख्य उत्पादनको अपेक्षा थियो । तर रोगका कारण मञ्जर र टिकुला झर्ने क्रम नरोकिँदा उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।” उहाँका अनुसार गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।
लहान नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइका अनुसार किसानले ‘इमिडाक्लोप्रिड’जस्ता विषादी प्रयोग गरे तापनि प्रकोप नियन्त्रण बाहिर गएको थियो । मञ्जर लाग्ने समयमा भएको वर्षा र अत्यधिक हावाहुरीले समस्या झनै बल्झाएको प्राविधिकहरूको ठहर छ ।
आँपखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निकै निराश छन् । लहान–२४ का किसान प्रमोद यादवले भन्नुभयो, “हामीलाई रोग नियन्त्रणका लागि आवश्यक ज्ञान र सीपको अभाव छ । सरकारले समयमै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।”
त्यस्तै, गए रातिको हावाहुरीले बाँकी रहेका टिकुलाहरू पनि झारिदिएपछि लगानी नै नउठ्ने अवस्था आएको लहान–२२ का किसान रामवृक्ष यादवले बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, “विषादी र मलजलमा निकै खर्च भयो, तर अहिले रुखमा टिकुला नै छैनन् । आम्दानी हुने बेला रोगको प्रकोप त एकातिर छँदैछ, अर्कोतर्फ बेस्सरी आएको हावाहुरीले आँपका अडिएका चिचिला नै झरेपछि यसपालि लगानी पनि नउठ्ने डर भयो ।”रोगको क्षतिलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअगावै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































