चितवन, यहाँको भरतपुर महानगरपालिकाले एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिका–३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगलाई जरिवाना गराएको हो ।
अनुगमनका क्रममा उद्योगमा पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई तीन पटकसम्म लेवलिङ, सरसफाइ कमी, खाद्य र अखाद्य वस्तु एकैठाउँमा राखिएको पाइएपछि जरिवाना गराइएको वडाध्यक्ष विकास थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्य प्रविधिमा दर्ता गरी खाद्य र अखाद्य वस्तु छुट्टै राख्न निर्देशन दिइएको छ । यदि पुनःअनुगमन गर्दा सञ्चालनयोग्य देखिएमात्र सो उद्योग सञ्चालन गर्नेगरी तत्काललाई बन्द गरिएको छ ।
आजै नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत रामनगर क्षेत्रमा रहेका होटलको अनुगमन गरिएको छ । यसै क्रममा बुधबार नारायणगढको पुतली बजारमा रहेका किराना पसलको अनुगमन गरिएको थियो । २० भन्दाबढी पसल अनुगमन गर्दा अधिकांशले नवीकरण नगरेको पाइएको थियो । २१ वर्षदेखि नवीकरण नगरी व्यवसाय सञ्चालन हुँदै आएको पाइएको वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो ।\उहाँका अनुसार व्यवसायीलाई तत्काल दर्ता गर्न र नवीकरण नभएकालाई नवीकरण गर्न निर्देशन दिइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































