भक्तपुर, नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताउनुभयो । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताउनुभयो । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य रहेको उल्लेख गर्दै सचेतक थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुटउपगुट तथा आन्तरिक मन्थन भएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































