महेन्द्रनगर (धनुषा), सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरनगर प्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित गरेको छ ।
उक्त बल र उपनगरपालिकाको समन्वयमा समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो।
तालिम समापन समारोहमा उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्ने सिलसिलामा उच्चतमरुपमा प्रयोग गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो ।उहाँले विपद्को समयमा उद्धार, राहत, जनचेतना अभिवृद्धि, जोखिम न्यूनीकरण तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्नसके जनधनको क्षति घटाउन सकिने धारणा राख्नुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, आगलागी, चट्याङ, सडक दुर्घटनालगायतका विपद्का घटना बढ्दै गएकालेयस्ता तालिमले समुदायलाई विपद्सँग जुध्न सक्षम बनाउने बताउनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर विष्टले बलले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार र नागरिक सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयो । तालिममा उपमहानगरपालिकामा कार्यरत पाँच जना अग्नि नियन्त्रक र ११ जना नगरप्रहरी सहभागी हुनुहुन्थ्यो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































