काठमाडौँ, नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन्जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ ।
युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन्जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय गरेको छ । जसमध्ये, कांग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मङ्सिरभित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर कांग्रेसको लामो समयदेखि चलिरहेको निरन्तरको बैठकप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्वसहित सहभागी हुनुपर्ने र महासङ्घ आम निर्वाचनपूर्व एकीकृत रूपमा सहमतिका साथ विधानका साथै संविधानको मूल मर्मअनुसार सबै वर्गको सहभागिता हुनेगरी यथाशीघ्र महाधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । कांग्रेसको निर्णय विहीनताले मुलुक पनि दिशाविहीन भएको समेत महासङ्घको ठहर रहेको छ ।
कांग्रेसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटकभन्दा बढी संसदीय प्रतिनिधिका रूपमा अवसर पाइसकेकाहरूलाई सङ्गठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रूपमा समेट्ने गरी उम्मेदवारहरू तय गर्ने नीति लिन कांग्रेसलाई आह्वान गरेको छ । त्यसैगरी पार्टी संरचनाभित्र पनि आरक्षित सिटहरूमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्ने युनियनको निर्णय छ ।
युनियनका अध्यक्ष योगेन्द्रकुमार कँुवरले श्रमिकहरूको पक्षका सरकार विगतदेखि उदासीन भएको बताउँदै हाल मन्त्री विहीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्न सरकारलाई ध्यानकेन्द्रित गराउने बताउनुभयो । उहाँले श्रमिकले समाजको सबै समुदायको प्रतिनिधित्व गने हुँदा संविधानमा छुट्याइएका विभिन्न क्लस्टरमध्ये, श्रमिक र कृषकको स्थान सुनिश्चित गरिनुपर्ने धारा राख्नुभयो । उहाँले अबको कांग्रेसको महाधिवेशनमा जेनजी पुस्तालाई समेटिनुपर्ने बताउनुभयो । यसैगरी युनियनका महासचिव अजयकुमार राईले जेनजी आन्दोलनपछिको सामाजिक, राजनीतिक रूपान्तरणको अपेक्षाप्रति राजनीतिक पार्टीले गम्भीर आत्मसात् गर्नुपर्ने बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
—





























































































































































