गण्डकी, पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलुु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।
उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उहाँले जानकारी दिनुुभयो । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ ।पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिनुुभयो । पोखरामा वार्षिक करिब २५ हजार मेट्रिकटन आलु उत्पादन हुनेगरेको छ ।
उहाँका अनुसार आलुको बीउ उत्पादनका लागि पनि किसानलाई अनुदान सहयोगसमेत गरिएको थियो । तिनै किसानबाट उत्पादित बीउ खरिद गरी अनुदानमा वितरण गरिएको हो ।
महानगरपालिकाले किसानलाई पाँच हजार पाँच सय किलो गहुँको बीउ तथा छ सय किलो तोरिको बीउ पनि अनुदानमा वितरण गरेको कडरियाले जानकारी दिनुुभयो । वितरण गरिएको गहुँको बीउबाट एक हजार रोपनी क्षेत्रफलमा गहुँखेती हुने तथा तोरीबाट एक हजार रोपनी क्षेत्रफलमा तोरीखेती हुने जनाइएको छ । राष्ट्रिय समाचार समिति(रासस)





















































































































































