तम्घास (गुल्मी), यहाँका दुई ठुला खेलमैदान निर्माणमा ढिलाइ भएको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो ।
प्रथम सहिद लखन थापाको नामबाट आर्थिक बर्ष २०७५/७६ देखि अम्मरपुरमा ‘सहिद लखन थापा अन्तरराष्ट्रिय खेलमैदान’ निर्माण सुरु गरिएको थियो । सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तीन करोड लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबो रोप्नेलगायत काम गरिएको थियो । २०७६ सालपछि रु २५ लाख र रु ५० लाख गरी कुल ७५ लाखको काम गरिएको इञ्जिनियर माधव देवकोटाले बताउनुभयो । हाल खेलमैदानमा दूबो रोप्ने, पर्खाल लगाउने काम भइरहेको छ ।
इञ्जिनियर देवकोटाकाअनुसार हाल बजेट अभावले काम सम्पन्न गर्ने समयबारे कुनै टुङ्गो छैन । राष्ट्रिय खेलकुद परिषद्सँग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास गरेपनि असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । “हाम्रो स्वामित्वमा काम गर्छौँ भनेको राखेपले स्वीकृति दिएन”, उपाध्यक्ष कुँवरले भन्नुभयो, “काम हामीले गर्न पनि प्रक्रियागत झन्झटले भएन, राखेपले पनि गरेन ।
” उहाँले एउटा खेलकुद कार्यक्रम आयोजना गर्दापनि निर्माण व्यवसायी र राखेपले बाधा जनाएपछि अलमल भएको बताउनुभयो । झण्डै रु एक अर्ब लागत अनुमान गरिएको उक्त खेलमैदान ५०५ मिटर लम्बाई र ६८ मिटर चौडाईसहित कभर्डहल र स्वीमिङ पुलसहित निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको थियो ।
त्यसैगरी सदरमुकाम तम्घासको चिदिचौर खेलमैदान निर्माणमा पनि ढिलाइ भएको छ । बहुवर्षीय आयोजनाको रूपमा रहेको खेलमैदान निर्माण व्यवसायीले काम नगर्दा ढिलाइ भएको हो । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राख्दा मैदान थप कुरुप बनेको छ । सार्वजनिक खरिद ऐन–२०६३ अनुसार कुनै पनि आयोजना सुरु गर्नु पहिले त्यसबारे सूचना पाटी राख्नुपर्ने व्यवस्था छ ।
करिब एक करोडको बहुवर्षीय आयोजनाको काम गर्दासमेत चिदिचौरमा कुनै सूचना पाटी राखिएको छैन । चिदिचौर खेल मैदानको पुनर्निर्माणका लागि एक करोड लागतमा रामेछाप कन्स्ट्रक्सनले २०८२ वैशाखमा जिम्मा पाएको थियो । काम सक्नुपर्ने म्याद २०८३ असारसम्म छ । हालसम्म ५० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले कम गुणस्तरका सामग्री ल्याएपछि नगरपालिकाले त्यसलाई फिर्तासमेत गरेको थियो । अब पनि समयमै काम गरे एक महिनामै सकिन्छ । तर निर्माण कम्पनीले काममा ढिलाइ गर्दै आएको छ ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































