ढोरपाटन (बागलुङ), दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रको कामले गति लिन नसकेको हो ।
समयमै कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्र भइसक्थ्यो । विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको हो । समयसमयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो । अहिले लामो समयपछि काम गर्न थालेको छ । कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ । सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गर्नुभयो ।
“यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तारोन्नति हुन सकेको छैन, बर्खाभरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ?, नजाउँ धुलो र हिलोले हैरान बनायो”, उहाँले भन्नुभयो, यहाँभन्दा माथिको सडक कालोपत्र भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु प¥यो ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो । काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताउनुहुन्छ ।
बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक हो । रु २४ करोड ५८ लाखमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङमार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि अहिलेसम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिनुभयो । चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्र गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।
इञ्जिनीयर श्रीसले भन्नुभयो, “यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोलासम्म अब तत्कालै कालोपत्र गर्ने र त्यसभन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउनेसँगै कालोपत्रका लागि बेस ओसार्ने काम गरी रहेको छ ।”राष्ट्रिय समाचार समिति (रासस)






























































































































































