कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा डम्बरबहादुर बोहरा, सचिवमा नैसरा पुन मगर, सहसचिवमा सम्झना बुढा तथा कोषाध्यक्षमा पार्वती बुढा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा जीवनकला पुनमगर, ममता कुमारी बिसी, मनसरा बिक, लक्ष्मीदेवी धामी, कमलादेवी थापा र पद्मादेवी बुढा रहनुभएको छ।
मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) को प्रमुख आतिथ्यतामा समूहको वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभामा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन प्राविधिक मानबहादुर चौधरी तथा गतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ती मगर विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा मोहन्याल माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर पुन मगर, कोपिला सामुदायिक वन उपभोक्ता समूहका सहसचिव डम्बर रोकामगर, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर तारामी मगर, नेपाली कांग्रेस मंगलसेन नगरपालिका अछामका सभापति पूर्णबहादुर बिष्ट, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी लालबहादुर बुढा, नमुना आमा समूहकी अध्यक्ष पार्वती बुढा, जनचेतना लघु उद्यमी अध्यक्ष सम्झना बुढा, चन्द्रसूर्य युवा क्लबका अध्यक्ष सन्तोष जोल्मी मगर, समाजसेवी तथा बुद्धिजीवी मानबहादुर बुढा र नन्दबहादुर बस्नेत, डोटी जिल्लाका समाजसेवी मोती सिंह साउद तथा ज्येष्ठ नागरिक वैवृद्ध डम्बरबहादुर ओलीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष बुढाले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा सबै उपभोक्ताहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै वन जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले दानवीर सामुदायिक वन उपभोक्ता समूहले यसअघिदेखि नै गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै बाटो निर्माण तथा विस्तार, सिँचाइ तथा खानेपानी आयोजना, विपन्न परिवारलाई बाख्रा वितरण, स्वास्थ्य भवन निर्माण, विद्यालयलाई आर्थिक सहयोग, विभिन्न सीपमूलक तालिम सञ्चालन तथा गरिबमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डम्बरबहादुर बोहराले गर्नुभएको थियो। आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन कार्यालय सचिव देवबहादुर बोहराले प्रस्तुत गर्दै कुल ४७ लाख ५३ हजार ६ सय ४९ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो।
साधारण सभाको सञ्चालन पत्रकार गोविन्द बुढा क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हाल दानवीर सामुदायिक वन उपभोक्ता समूहमा १ सय ३६ जना उपभोक्ता आबद्ध रहेका छन्।












































































































































