नोम पेन(कम्बोडिया), कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ–१६ लडाकू जेट प्रयोग गरेको बताउनु भएको छ ।
सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरु आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको सङ्ख्या ७७ पुगेको जनाउनु भएको छ ।आधिकारिक तथ्याङ्कका अनुसार द्वन्द्वले एक लाख ३० हजार भन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।



















































































































































