महेन्द्रनगर (धनुषा), नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा आजदेखि सुरु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साहले सम्मेलनको उद्घाटन गर्नुभयो । नगरप्रमुख साहले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र सकारात्मक परिवर्तनमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनकपुर जेसिजले समाजमा चेतना फैलाउन र युवालाई जिम्मेवार नागरिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
यही पुस ७ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा सञ्चालन हुने सम्मेलनमा जेसिजका १८६ शाखामा आबद्ध पाँच हजारभन्दा प्रतिनिधिहरु सहभागी छन् ।सम्मेलनमा ओरेटरी कन्टेस्ट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीलगायत नेपाल जेसिजका विभिन्न नेतृत्व विकास, व्यक्तित्व विकास तथा सङ्गठनात्मक गतिविधिहरू सञ्चालन हुने निर्देशक सुधिर पजियारले बताउनुभयो । सम्मेलनले जनकपुरको पर्यटन, होटल व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनकपुर जेसिजका पूर्वअध्यक्ष रामकिशोर साहको भनाइ छ ।
साथै, युवा नेतृत्व विकास र राष्ट्रियस्तरको सञ्जाल विस्तारमा सम्मेलन महत्वपूर्ण हुने बताइएको छ । सन् १९७७ मा अध्यक्ष लक्ष्मीबहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलोपटक यहाँ महाधिवेशन आयोजना गरिएको थियो । त्यसपछि सन् १९९३ मा अध्यक्ष शम्भु साह, सन् २००३ मा सन्तोष साह र सन् २०१८ मा जितेन्द्र महासेठको नेतृत्वमा महाधिवेशन जनकपुरधाममै सम्पन्न भएको थियो ।महाधिवेशनमार्फत सङ्गठनको आगामी कार्यदिशा, नेतृत्व चयन तथा सामाजिक गतिविधिहरूका विषयमा छलफल हुने जनाइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































