कर्णाली, गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुग्नुभएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भनिएको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत आइपुग्नुभएको हो ।उहाँले भेरीगङ्गा नगरपालिका–८ सुर्खेत चिप्लेस्थित निर्माणाधिन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मन्त्री अर्यालले जिल्ला प्रशासन र सुरक्षा निकायको निरीक्षण पश्चात आवश्यक निर्देशन दिने कार्यक्रम छ । टोलीमा मन्त्री अर्यालसँगै गृह सचिव रामेश्वर दङ्गालसहित १३ सदस्य सहभागी छन् ।
बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल गरिने छ । उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलगायतका सुरक्षा अधिकारीको सहभागिता रहने जनाइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































