काठमाडौँ, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको थियो । उहाँले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गर्नुभयो । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । राष्ट्रिय समाचार समिति (रासस)




















































































































































