काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताउनुभएको छ ।कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।
देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताउनुभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई पनि पार्टीको एकता बचाउनका लागि तयार हुन आग्रह गर्नुभएको थियो । पार्टीका तर्फबाट टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उहाँले आफू त्यसलाई छोड्न तयार रहेको बताउनुभएको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।
कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरी सभापति देउवाको हस्ताक्षर निर्वाचन आयोग पठाइएको थियो । सोहीअनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभामा समानुपातिकतर्फको पार्टीका टिकट वितरण भइसकेको छ । अब प्रत्यक्षतर्फको मात्र टिकट वितरण हुन बाँकी छ ।
अरु विशेष महाधिवेशनलगायतका विषयमा उहाँहरुबीच छलफल भएको र केन्द्रीय कार्यसमितिमार्फत ती विषय टुङ्ग्याउन आग्रह गर्नुभएको थियो । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा रहनुभएका साथीहरुसँग छलफल गर्ने भनेर बैठकबाट निस्कनुभएको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































