बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला २०८२ सुरु भएको हो ।
थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यसहित मेला संचालन गरिएको आयोजक माघे संक्रान्ति तिर्थ माघी मेला व्यवस्थापन समितिले जनाएको छ ।
रामजानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गरिएको मेलाको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न ।
मेला व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कठरियाको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कुवरले आगामी गाउँसभाबाट बर्दगोरिया ६ भक्तिनिया अस्थानको पर्यटन क्षेत्रको विकासका लागि बीस लाख रुपैयाँ बजेट छुट्याउने प्रतिबद्धता गरेका छ्न । उनले पर्यटन क्षेत्रको विकास भएमात्र आर्थिक समृद्धिको मार्गचित्र पूरा हुने बताउदै यस क्षेत्रको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले माघी मेलाले सामुदायिक एकता, भावना र उत्साहको प्रतिरूप झल्काएको बताए । उनले थारु समुदायको मौलिकता जोगाउन, संस्कृतिको निरन्तरता दिन र नयाँ पुस्तालाई आफ्नो पहिचान र गौरवको सम्झना गराउन माघी मेला एक महत्वपूर्ण माध्यम भएको बताए । उनले धार्मिक क्षेत्रको दीर्घकालीन संरक्षण र आवश्यक पूर्वाधार निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले भक्तिनिया अस्थान हाम्रो सांस्कृतिक धरोहर भएको भन्दै यसलाई संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पहिचान दिलाउने दायित्व हामी सबैको भएको बताए । माघी मेला ५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएका छ्न ।
साथै स्थानीय उत्पादन, कला–सामग्री, जनचेतनामूलक कार्यक्रम र धार्मिक क्रियाकलापले मेला क्षेत्र रौनकमा बदलिएको छ। मेला व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कठरियाले स्थानीयदेखि धार्मिक पर्यटकसम्म सबैलाई समेटेर भक्तिनियालाई भव्य धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउनेतर्फ आयोजनाको लक्ष्य रहेको बताए।






















































































































































