नेपालगञ्ज, दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ ।
उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढने सङ्केत गर्नुभयो । “उत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ”, उहाँले भन्नुभयो । अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताउनुभयो ।
जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा वर्षाले क्षति पु¥याएको छ । विगतमा माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन् ।
करिब रु चार करोड लगानी रहेको इँटा उद्योगमा ३०० हाराहारीमा जनशक्ति छन् । एउटा इँटालाई रु १५ पर्छ । बाँकेको नेपालगञ्जबाहेक खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारीलगायत स्थानमा इँटाभट्टा सञ्चालनमा रहेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































