खलङ्गा (दार्चुला), दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लिगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



















































































































































