टीकापुर । नेकपा एमाले कैलाली क्षेत्र नम्बर १ निर्वाचन मा आज निर्वाचन लक्षित युवा भेला सम्पन्न भएको छ।
कैलाली क्षेत्र नम्बर १ स्तरीय सो युवा बेलाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद तिला भण्डारी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले जातीयताले समग्र समाजको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै वर्गीय चेतनाले मात्रै समग्र समाजलाई न्याय र समानता दिन सक्ने बताउनुभयो।
उहाँले कैलाली क्षेत्र नम्बर १ बाट युवा नेता एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई जिताउन सके कैलाली क्षेत्र नम्बर १ ले विकासको गति लिने बताउनुभयो।
कार्यक्रममा बोल्दै नेकपा एमाले कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले आफू निर्वाचित भएमा टिकापुरको विकासका निम्ति अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आफूले सधैँ युवाहरूको प्रतिनिधित्व गर्दै आएको बताउँदै उम्मेदवार न्यौपानेले भन्नुभयो “तपाईँ मलाई विश्वासको मत दिनुस्।, म तपाईँहरूलाई समृद्धि र विकास दिनेछु।”
कार्यक्रममा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन मूल परिचालन समितिका संयोजक तपेन्द्र रावलले कुनै पनि ठाउँको विकासको लागि सिद्धान्तमा प्रतिबद्ध भएको नेतृत्व आवश्यक पर्ने बताउँदै प्रत्येक चुनावमा पार्टी फेर्दै जानेहरूबाट विकासको अपेक्षा गर्न नसकिने बताउनुभयो।
प्रकाश खड्काको अध्यक्षता र बम ओलीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य नवराज ठकुलाले व्यक्त गर्नुभएको थियो।














































































































































